काठमाडौं । अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व सहर सूचकांकमा नेपालको राजधानी काठमाडौं ६८७औँ स्थानमा परेको छ। विश्वका १ हजार ठूला सहरलाई विभिन्न पाँच आधारमा मूल्यांकन गरी तयार गरिएको सूचीमा काठमाडौंको समग्र स्कोरका आधारमा उक्त स्थान निर्धारण गरिएको हो।
काठमाडौं अर्थतन्त्रतर्फ ६७०औँ, मानवीय क्षमतामा ५६२औँ, जीवनस्तरतर्फ ८४०औँ, वातावरणमा ६३९औँ र शासनमा ६३५औँ स्थानमा रहेको छ।
अक्सफोर्ड इकोनोमिक्सले सहरहरूको मूल्यांकन गर्दा अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासनलाई मुख्य आधार बनाएको जनाएको छ। यी पाँचवटै पक्षको संयुक्त प्रदर्शनका आधारमा समग्र सहर सूचकांक तयार गरिएको हो।
समग्र सूचीमा भने अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा रहेको छ। न्यूयोर्कले १०० अंक प्राप्त गरेको छ। बेलायतको लन्डन ९८.८ अंकसहित दोस्रो र फ्रान्सको पेरिस ९३.४ अंकसहित तेस्रो स्थानमा छन्।
शीर्ष १० मा अमेरिकाका सियाटल चौथो, सान फ्रान्सिस्को पाँचौँ, बोस्टन सातौँ र सान होजे आठौँ स्थानमा छन्। आयरल्यान्डको डब्लिन छैटौँ, जापानको टोकियो नवौँ र स्विट्जरल्यान्डको ज्युरिख दशौँ स्थानमा रहेका छन्।
सूचकांकमा जीवनस्तरतर्फ अस्ट्रेलियाको राजधानी क्यानबेरा पहिलो स्थानमा छ। समग्र सूचीमा भने क्यानबेरा ४५औँ स्थानमा रहेको छ।
जीवनस्तर मापन गर्दा आम्दानी, आय असमानता, आवास तथा घरभाडाको लागत, औसत आयु, अपराध र मनोरञ्जन तथा सांस्कृतिक सुविधाजस्ता पक्षलाई आधार बनाइएको छ।
अर्थतन्त्र सूचकको शीर्ष आठमा सात अमेरिकी सहर छन्। लन्डन सातौँ स्थानमा रहँदा न्यूयोर्क, लस एन्जलस, सान होजे, सिएटल, सान फ्रान्सिस्को, डल्लास र वासिङ्टन शीर्ष आठमा परेका छन्।
मानवीय क्षमतामा लन्डन पहिलो स्थानमा छ। दुबई, टोकियो, रियाद, न्यूयोर्क, आबुधाबी, पेरिस र सेन्जेन क्रमशः त्यसपछिका शीर्ष स्थानमा छन्।
वातावरण सूचकमा होनोलुलु पहिलो स्थानमा रहेको छ भने फोर्टालेजा, बर्गेन, वेलिङ्टन, अराकाजु, सुभा, स्टकहोम र सान्ता क्रुज डे टेनेरिफे क्रमशः दोस्रोदेखि आठौँ स्थानमा छन्।
त्यस्तै शासन सूचकमा कोपनहेगन पहिलो स्थानमा छ। आर्हस, अकल्यान्ड, वेलिङ्टन, क्राइस्टचर्च, हेलसिन्की, टाम्पेरे र ओस्लो क्रमशः त्यसपछिका स्थानमा रहेका छन्।



