images
images

१३ देशमा राजदूत सिफारिस, कूटनीतिमा नयाँ अनुहारदेखि पूर्वसैनिक नेतृत्वसम्म


  • 79
    SHARES
  • २०८३ आश्विन २ गते शुक्रबार

    १३ देशमा राजदूत सिफारिस, कूटनीतिमा नयाँ अनुहारदेखि पूर्वसैनिक नेतृत्वसम्म

    काठमाडौँ, १ असोजः सरकारले १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्र र पृष्ठभूमिका व्यक्तिलाई राजदूतका रूपमा सिफारिस गरेको हो।

    सरकारले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलङ्का र साउदी अरबका लागि राजदूत सिफारिस गरेको हो।

    सिफारिस भएका व्यक्तिहरूमा परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सम्बन्धका अध्येतादेखि सुरक्षा विज्ञ, पूर्वप्रधानसेनापति, सूचना प्रविधि तथा बैंकिङ क्षेत्रका विज्ञ, अन्तर्राष्ट्रिय विकास क्षेत्रमा काम गरेका व्यक्ति, प्राध्यापक, सार्वजनिक नीति तथा शासन विज्ञ र सामाजिक विकास क्षेत्रमा सक्रिय व्यक्ति छन्।

    भारतका लागि डा. निश्चलनाथ पाण्डे सिफारिस भएका छन्। परराष्ट्र मामिलाका अध्येता पाण्डे दक्षिण एसियाली तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा लामो समयदेखि अध्ययन तथा अनुसन्धानमा संलग्न छन्। उनी सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक तथा नेपाल परराष्ट्र मामिला संस्थानका पूर्वकार्यकारी निर्देशक हुन्। नीति निर्माणसम्बन्धी विभिन्न सरकारी संयन्त्रमा समेत काम गरिसकेका पाण्डेको शैक्षिक पृष्ठभूमि राजनीतिशास्त्र र कानुनसँग सम्बन्धित छ।

    चीनका लागि डा. कल्याणराज शर्मा सिफारिस भएका छन्। नेपाल–चीन सम्बन्धका जानकार शर्माले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। चीनको फुदान विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनले वैदेशिक लगानी, व्यापार, पर्यटन तथा वित्तीय विषयमा अध्ययन गरेका छन्। नेपाल–चीन सम्बन्धसँग सम्बन्धित विभिन्न संस्थामा नेतृत्वदायी भूमिकामा रहेका उनी चीनसँगको सम्बन्धमा लामो समयदेखि सक्रिय छन्।

    अमेरिकाका लागि चिरञ्जीव थापा सिफारिस भएका छन्। राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय मामिला, सङ्कट व्यवस्थापन र कूटनीतिका क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका थापाले विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेका छन्। उनले नेपालका रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना र नेपाल प्रहरीसँग सम्बन्धित विषयमा समेत परामर्शदाताका रूपमा काम गरेका छन्।

    बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा सिफारिस भएका छन्। करिब चार दशक नेपाली सेनामा सेवा गरेका जबरा २०७० देखि २०७२ सम्म प्रधानसेनापति थिए। नेपाली सेनामा पूर्वमाओवादी लडाकुको समायोजन तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशको सङ्क्रमणकालीन व्यवस्थापनका क्रममा उनले नेतृत्व गरेका थिए। भूकम्पपछिको उद्धार तथा राहत अभियानमा पनि उनको नेतृत्व रह्यो। सैनिक रणनीति तथा सुरक्षा अध्ययनमा उच्च शिक्षा हासिल गरेका जबराले नेपालबाहेक बेलायत, अमेरिका र पाकिस्तानका सैनिक संस्थाबाट समेत तालिम लिएका छन्।

    जापानका लागि ज्ञानकुमार थापा सिफारिस भएका छन्। नेपाल–जापान सम्बन्ध, अन्तर्राष्ट्रिय सहकार्य र सामाजिक विकासका क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गरेका थापाले जापानमा रहेर विभिन्न उच्चस्तरीय द्विपक्षीय कार्यक्रमको समन्वय गरेका छन्। उनी जापानका विभिन्न विश्वविद्यालयमा अध्यापन तथा अनुसन्धानसँग पनि जोडिएका छन्।

    इजरायलका लागि सुरेशकुमार कर्णको नाम सिफारिस भएको छ। सूचना प्रविधि, बैंकिङ र आर्थिक नीतिका क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका कर्ण कुमारी बैंक र नेपाल बैंकमा नेतृत्व तहमा काम गरिसकेका व्यक्ति हुन्। कुमारी बैंकमा रहँदा उनले मोबाइल वालेट सेवाको अवधारणा अघि बढाएका थिए। सूचना प्रविधि क्षेत्रको संस्थागत विकासमा पनि उनको संलग्नता रहँदै आएको छ।

    स्पेनका लागि प्राप्ति शेरचन सिफारिस भएकी छन्। अन्तर्राष्ट्रिय विकास, साझेदारी र महिला आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गरेकी शेर्पचनले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया तथा अफ्रिकाका विभिन्न मुलुकमा काम गरेकी छन्। अन्तर्राष्ट्रिय वित्तीय संस्थामा रहेर महिलाको आर्थिक पहुँच, रोजगारी र वित्तीय सेवासम्बन्धी कार्यक्रमको नेतृत्व गरेकी उनले ठूलो सङ्ख्यामा महिलालाई त्यस्ता कार्यक्रमसँग जोडिएको स्रोतमा उल्लेख छ।

    जर्मनीका लागि शारु जोशी सिफारिस भएकी छन्। वैदेशिक रोजगारीको शासन प्रणाली, लैङ्गिक समानता र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा लामो अनुभव भएकी जोशी वैदेशिक रोजगार ऐन, नियमावली तथा नीतिसँग सम्बन्धित काममा समेत संलग्न भएकी थिइन्। संयुक्त राष्ट्रसङ्घीय संस्थामा रहेर श्रम कूटनीति, आर्थिक सशक्तीकरण तथा रणनीतिक साझेदारीका क्षेत्रमा काम गरेकी उनले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वसमेत गरेकी छन्।

    ओमानका लागि डा. पद्माक्षी राणा सिफारिस भएकी छन्। दिगो विकास, समावेशी नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा काम गरेकी राणा इम्प्याक्ट हब काठमाडौँकी सहसंस्थापक तथा कार्यकारी निर्देशक हुन्। बेलायत, युरोपेली सङ्घ, संयुक्त राष्ट्रसङ्घीय निकाय, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थासँग साझेदारीमा काम गरेकी उनले दिगो व्यवसाय, खाद्य उत्पादन तथा विपद्पछिको पर्यटन विकाससम्बन्धी अनुसन्धान गरेकी छन्।

    मलेसियाका लागि चुडामणि खरेल सिफारिस भएका छन्। मानविकी, अङ्ग्रेजी, राजनीतिशास्त्र, कानुन तथा सार्वजनिक प्रशासनको अध्ययन र अध्यापनसँग जोडिएका खरेलले विभिन्न शैक्षिक संस्थामा अध्यापन गरेका छन्। उनी योग खेलसँग सम्बन्धित संस्थाको महासचिवका रूपमा समेत कार्यरत छन्।

    दक्षिण कोरियाका लागि प्राध्यापक डा. सङ्गम श्रेष्ठ सिफारिस भएका छन्। अन्तर्राष्ट्रिय सहकार्य, जलवायु उत्थानशीलता, जलस्रोत तथा पानी सुरक्षासम्बन्धी क्षेत्रमा लामो अनुभव भएका श्रेष्ठ एसियाली प्रविधि संस्थान थाइल्यान्डका प्राध्यापक तथा पूर्वडिन हुन्। विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदार र ३० भन्दा बढी देशका सरकार तथा कूटनीतिक नियोगसँग सहकार्य गरेका श्रेष्ठका दुई सयभन्दा बढी अनुसन्धानपत्र प्रकाशित भएको स्रोतमा उल्लेख छ।

    श्रीलङ्काका लागि डा. मञ्जला झा सिफारिस भएकी छन्। शासन, सार्वजनिक नीति तथा सङ्क्रमणकालीन न्यायका क्षेत्रमा काम गरेकी झा सत्य निरूपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य हुन्। आयोगमा रहँदा अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गरेकी उनले त्रिभुवन विश्वविद्यालयमा शासन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी विषय अध्यापनसमेत गरेकी छन्।

    साउदी अरबका लागि गिरिबहादुर सुनार सिफारिस भएका छन्। समाजशास्त्र तथा विकासका क्षेत्रमा लामो अनुभव भएका सुनारले सामाजिक संरक्षण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सामुदायिक जलवायु अनुकूलन र विकास आयोजनासम्बन्धी क्षेत्रमा काम गरेका छन्। विश्व बैंक र एसियाली विकास बैंकसँग सम्बन्धित विभिन्न विकास कार्यक्रममा समेत उनको संलग्नता रहेको छ।

    सरकारले सिफारिस गरेका राजदूतहरू अब संसदीय सुनुवाइ प्रक्रियामा जानेछन्। संसदीय सुनुवाइबाट स्वीकृत भएपछि सम्बन्धित मुलुकमा उनीहरूको नाम अग्रिमोका लागि पठाइनेछ। सम्बन्धित देशबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले उनीहरूलाई सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

    यससँगै नेपालको कूटनीतिक प्रतिनिधित्वका लागि सिफारिस भएका १३ व्यक्तिको पृष्ठभूमिमा शैक्षिक क्षेत्र, सुरक्षा, अन्तर्राष्ट्रिय विकास, सूचना प्रविधि, बैंकिङ, सार्वजनिक नीति र सामाजिक विकासजस्ता विविध क्षेत्र समेटिएका छन्।




    images
    images

    Logo