images
images

१८४ हप्तादेखि निरन्तर हाटबजार, किसानको उत्पादन सिधै उपभोक्ताको हातमा


  • 125
    SHARES
  • २०८३ भाद्र २९ गते सोमबार

    १८४ हप्तादेखि निरन्तर हाटबजार, किसानको उत्पादन सिधै उपभोक्ताको हातमा

    दमौली, २९ भदौ। शुक्रबार बिहानै आँबुखैरेनी गाउँपालिका–३ को साप्ताहिक हाटबजारमा चहलपहल सुरु हुन्छ। कोही डोकोमा तरकारी बोकेर आइपुग्छन्, कोही घरमै उत्पादन गरेको घिउ, मह र अचार बोकेर। उपभोक्ता पनि ताजा स्थानीय उत्पादन खरिद गर्न बिहानैदेखि हाटबजार पुग्छन्।

    किसानको बारीमा उत्पादन भएको वस्तु बजारसम्म पुर्‍याउने उद्देश्यले सुरु गरिएको यो हाटबजार अहिले १८४औँ हप्तामा प्रवेश गरेको छ। विसं २०७९ फागुनदेखि हरेक शुक्रबार सञ्चालन हुँदै आएको हाटबजार साढे तीन वर्षको अवधिमा स्थानीय किसान, उपभोक्ता र साना व्यवसायीबीचको प्रत्यक्ष सेतुका रूपमा स्थापित भएको हो।

    हाटबजारमा गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, अन्नबाली, दाल, अचार, घिउ, महदेखि घरेलु परिकार र हस्तकलाका सामग्रीसम्म बिक्रीका लागि राखिन्छन्। स्थानीय महिलाले तयार पारेका परम्परागत खाद्य परिकारले पनि हाटबजारमा आउने उपभोक्ताको ध्यान खिच्ने गरेका छन्।

    बिचौलिया हटेपछि किसानलाई फाइदा

    गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार हाटबजार स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम बनेको छ।

    उनका अनुसार किसानले आफ्नो उत्पादन सिधै उपभोक्तालाई बिक्री गर्न पाउने भएकाले बिचौलियाको भूमिका घटेको छ। यसबाट किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले पनि ताजा सामान तुलनात्मक रूपमा सस्तोमा खरिद गर्न सक्ने अवस्था बनेको छ।

    “स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम बनेको छ,” केसीले भने । 

    यसअघि गाउँमा उत्पादन भएको तरकारी तथा अन्य सामग्री बिक्रीका लागि टाढाको बजार पुग्नुपर्ने बाध्यता थियो। हाटबजार सञ्चालनमा आएपछि भने किसानले गाउँमै उत्पादन बिक्री गर्ने अवसर पाएका छन्।

    पहिले बजार टाढा थियो, अहिले यतै बेच्न पाइन्छ’

    आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीकी किसान सुकमाया चेपाङ हाटबजारकी नियमित विक्रेता हुन् । उनी गाउँमा उत्पादन भएको सागसब्जी, कोदो, मकै, घिउलगायतका सामग्री बोकेर हरेक पटकजसो हाटबजार पुग्छिन् । 

    उनका लागि हाटबजार केवल सामान बेच्ने ठाउँ होइन, गाउँमै बसेर आफ्नो उत्पादनबाट आम्दानी गर्ने अवसरसमेत बनेको छ।

    “पहिले सामान बेच्न बजार टाढा जानुपथ्र्यो, खर्च पनि बढी हुन्थ्यो। अहिले यतै बेच्न पाइन्छ, आम्दानी पनि बढेको छ,” उनी भन्छिन् । 

    किसानका लागि उत्पादन बजारसम्म पुर्‍याउने खर्च र समय दुवै घटेकाले हाटबजारले ग्रामीण क्षेत्रका साना किसानलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ।

    किनबेचसँगै भेटघाटको थलो

    आँबुखैरेनीको हाटबजारको विशेषता व्यापारमा मात्र सीमित छैन। शुक्रबार हाटबजार लाग्ने भएपछि गाउँका मानिसका लागि यो सामाजिक भेटघाट र सूचना आदानप्रदान गर्ने थलोसमेत बनेको छ।

    गाउँका विभिन्न ठाउँबाट आएका मानिसबीच भेटघाट हुन्छ, गाउँघरका समस्या र गतिविधिबारे कुराकानी हुन्छ। यसले शुक्रबारको हाटबजारलाई स्थानीय समुदायको नियमित जमघटको रूपसमेत दिएको छ।

    हाटबजारका कारण गाउँमा आर्थिक गतिविधि बढ्नुका साथै स्थानीय उत्पादनप्रतिको आकर्षणसमेत बढेको स्थानीयवासी बताउँछन्।

    ‘गाउँको सानो बजार, ठूलो सहयोग’

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार साढे तीन वर्षअघि सुरु गरिएको हाटबजार अहिले स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण आधार बनेको छ।

    उनका अनुसार स्थानीय उत्पादनले बजार नपाउँदा किसान निराश हुने अवस्था थियो। हाटबजारले गाउँमै उत्पादन बिक्री गर्ने वातावरण बनाएपछि किसानलाई उत्पादन बढाउन प्रोत्साहन मिलेको छ।

    “स्थानीय उत्पादनलाई बजार नपाउँदा किसान निराश हुने अवस्था थियो, अहिले भने गाउँमै बिक्री हुने वातावरण बनेको छ,” अध्यक्ष चुमानले भने । 

    हाटबजारले ग्रामीण क्षेत्रमा नगद प्रवाह बढाउनुका साथै घरमै उत्पादन गरेर आम्दानी गर्ने संस्कारलाई समेत बलियो बनाएको उनको भनाइ छ।

    अध्यक्ष चुमानले हाटबजारलाई केवल किनबेच गर्ने स्थानका रूपमा मात्र नभई स्थानीय उत्पादन प्रवर्द्धन, स्वरोजगार सिर्जना र सामुदायिक जमघटको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । 

    सिस्नु, गिठ्ठादेखि मह र मोहीसम्म

    आँबुखैरेनीको हाटबजारमा स्थानीय उत्पादनको विविधता पनि यसको आकर्षण बनेको छ।

    यहाँ स्थानीय मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायत दैनिक उपभोग्य सामग्री बिक्रीका लागि ल्याइन्छन्।

    शहरका बजारमा सहजै नपाइने कतिपय स्थानीय तथा परम्परागत खाद्य सामग्रीसमेत एउटै ठाउँमा पाइने भएकाले उपभोक्ताका लागि हाटबजार आकर्षणको केन्द्र बनेको छ।




    images
    images

    Logo