नारायणगढ (चितवन), ३० भदौ: पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण थालिएको नयाँ ट्र्याकको काम अन्तिम चरणमा पुगेको छ। निर्माण सम्पन्न भएपछि असोज १ गतेदेखि नियमित रूपमा यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। उनका अनुसार पहिलो चरणमा ९–१० दिनसम्म ११–१२ वटा हेभी उपकरण परिचालन गरेर काम गरिएको थियो। अहिले निर्माण अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना मजदुर तथा पाँच–छ वटा हेभी उपकरण परिचालन गरिएको छ।
आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न भएपछि केही सवारीसाधनलाई परीक्षणका रूपमा नयाँ ट्र्याकबाट आवतजावत गराइएको थियो। परीक्षण सफल भएपछि सडकलाई नियमित यातायात सञ्चालनयोग्य बनाउन बाँकी काम तीव्र पारिएको छ।
करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक निर्माण गरिएको छ। सडकसँगै नालीसहित करिब साढे सात मिटरको संरचना तयार गरिएको इञ्जिनियर नेपालले बताए।
हाल नदीबाट ल्याइएको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ। सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन बनाउने काम पनि भइरहेको छ। सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने निर्माण पक्षको भनाइ छ।
इञ्जिनियर नेपालले कृष्णभीरको नयाँ ट्र्याक जोखिमयुक्त क्षेत्रमा रहेकाले थप पहिरो नआएमा असोज १ गतेदेखि यातायात सञ्चालन गर्न सकिने बताए।
यसैबीच, नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताए।
उनका अनुसार आइतबार परीक्षणका लागि मात्र केही सवारीसाधनलाई नयाँ ट्र्याकबाट पास गराइएको हो। अहिले नयाँ ट्र्याक पूर्णरूपमा बन्द छ।
“सर्वसाधारण नयाँ ट्र्याक खुला गरिएको भ्रममा नपर्नुहोला। परीक्षणका लागि मात्र केही सवारीसाधन पास गराइएको हो,” उनले भने।
थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले बताए।



