images
images

विनाशकारी बाढीको पाँच दिन - मुख्यमन्त्रीका ८ ‘एक्सन’


  • 197
    SHARES
  • २०८३ भाद्र १४ गते आइतबार

    विनाशकारी बाढीको पाँच दिन - मुख्यमन्त्रीका ८ ‘एक्सन’

    भक्तपुर । किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री बनेको एक साता पनि पूरा भएको थिएन । सरकारको काम बुझ्ने, मन्त्रालय व्यवस्थापन गर्ने र प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमै रहेका बेला भदौ १० गते भोटेकोशीमा विनाशकारी बाढी आयो ।

    रसुवा, नुवाकोट र धादिङमा बाढीले ठूलो क्षति पुर्यायो । सडक र पुल बगे । विद्युत् र सञ्चार अवरुद्ध भयो । नागरिकसँगै पर्यटक र यात्रुहरू विभिन्न ठाउँमा अलपत्र परे । धेरै लापत्ता भएको समाचार आउन थाल्यो । कतिको लास भेटिनथाल्यो । 

    नयाँ मुख्यमन्त्रीका लागि यो सामान्य घटना थिएन । तर बाढी आएको पाँच दिनमा किरण थापा मगरले परिस्थितिलाई बुझ्न समय लगाउनेभन्दा तत्कालै विपद्को कमान्ड सम्हाल्ने बाटो रोजे । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका उनी काठमाडौं वा हेटौँडाको कार्यालयमा बसेर निर्देशन दिने मुख्यमन्त्रीका रूपमा मात्र देखिएनन्, प्रभावित क्षेत्रमा आफैँ पुगेर उद्धार, राहत र तत्कालीन व्यवस्थापनको नेतृत्व गरिरहेका छन् ।

    पहिलो एक्सन - घटनास्थलतर्फ प्रस्थान
    भदौ १० गते बाढीको खबर आउनासाथ मुख्यमन्त्री थापामगर नुवाकोट पुगे । प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनको अवस्था बुझे र सम्बन्धित निकायसँग समन्वय गरे । त्यहाँको अवस्था बुझिसकेपछि उनी रसुवातर्फ लागे । रसुवा जाने मुख्य सडक नै बाढीले क्षतिग्रस्त भइसकेको अवस्थामा उनले वैकल्पिक मार्ग प्रयोग गरेर प्रभावित क्षेत्रमा पुग्ने निर्णय गरे ।

    उनको पहिलो दिनको सक्रियताको मुल सन्देश थियो, जनताको समस्यामा सरकार आफैँ पुग्नुपर्छ ।

    दोस्रो एक्सन - उद्धारलाई पहिलो प्राथमिकता
    रसुवा र नुवाकोटका विभिन्न स्थानमा स्थानीय नागरिकसँगै आन्तरिक तथा बाह्य पर्यटकसमेत फसेको जानकारी पाएपछि मुख्यमन्त्री थापाले उद्धारलाई तत्काल प्राथमिकतामा राखे । सुरक्षा निकाय, स्थानीय प्रशासन र स्थानीय तहसँग समन्वय गर्दै फसेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने काम अघि बढाइयो ।

    रसुवाको मैलुङस्थित सेते ओडारबाट मात्रै एक दिनमा करिब दुई सय ५० जनाको उद्धार गरिएको र ‘र्याट’मार्फत करिब छ सय जनालाई उद्धार गरिएको मुख्यमन्त्री थापाले बताएका छन् । उद्धार गरिएकालाई नुवाकोटका विभिन्न पाँचवटा अस्थायी शिविरमा राखेर खाना र बसोबासको व्यवस्था गरिएको थियो । 

    अर्थात्, प्रदेश सरकारको पहिलो प्राथमिकता स्पष्ट थियो, नागरिक बचाउने । 

    तेस्रो एक्सन - राहत सामग्री पीडितसम्म पु¥याउने
    विपद्मा राहत संकलन हुनु मात्र पर्याप्त हुँदैन । राहत पीडितको हातसम्म पुग्नु महत्वपूर्ण हुन्छ । यस विषयमा मुख्यमन्त्री थापाले विशेष ध्यान दिएका छन् ।

    रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा खाना, खानेपानी, औषधि, इन्धन तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । काठमाडौंमा संकलित राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन स्थलमार्ग र आवश्यकताअनुसार हवाई माध्यम प्रयोग गरिएको छ । संघीय सरकारका विभिन्न संयन्त्रमार्फत पनि राहत सामग्री नुवाकोटको बट्टार तथा रसुवाको उत्तरगयासम्म पुर्याएर त्यहाँबाट प्रभावित बस्तीमा वितरण गर्ने काम भइरहेको छ ।

    चौथो एक्सन -बाटो बन्द भयो, विकल्प खोलियो
    बाढीले सबैभन्दा ठूलो समस्या सिर्जना गरेको अर्को क्षेत्र हो, यातायात । धुन्चे जाने मुख्य सडक अवरुद्ध भएपछि राहत सामग्री पुर्याउन र फसेका नागरिकलाई बाहिर निकाल्न वैकल्पिक बाटो आवश्यक भयो ।

    मुख्यमन्त्री थापाले नुवाकोटको ढिकुरे, बाहुनबेँसी, नर्डा, छाप, लच्याङ, नौकुण्ड, सरनथली, पार्टीखर्क, चिलाउने गाउँ, घिचेत, पुङखोला, पच्र्याङ, भोर्ले, अम्बास र बेत्रावती हुँदै रसुवा जोड्ने सडकखण्डलाई सञ्चालनयोग्य बनाउन काम अघि बढाएका छन् ।

    सडक खुलेपछि राहत पुग्छ, राहत पुगेपछि नागरिकलाई सुरक्षित स्थानमा ल्याउन सकिन्छ । त्यसैले सडक सञ्चालनलाई पनि उनले उद्धार अभियानकै महत्वपूर्ण अंग बनाएका छन् ।

    पाँचौँ एक्सन - पर्यटकलाई पनि उद्धार
    विपद्मा स्थानीय नागरिक मात्र होइन, रसुवा पुगेका आन्तरिक तथा बाह्य पर्यटक पनि प्रभावित भए । मुख्यमन्त्री थापाले उनीहरूको अवस्थाबारे पनि तत्काल चासो लिए ।

    रसुवा र नुवाकोटमा फसेका पर्यटक तथा यात्रुलाई सुरक्षित रूपमा जिरोकिलोसम्म ल्याउने र त्यहाँबाट गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको उनले बताएका छन् । यसले प्रदेश सरकारको उद्धार नीति केवल ‘स्थानीय नागरिक’मा सीमित नभई विपद्मा परेका सबै नागरिक र यात्रुको सुरक्षामा केन्द्रित रहेको देखाउँछ ।

    छैटौँ एक्सन - स्वास्थ्य सेवा तत्काल
    बाढीपहिरोमा घाइते भएका नागरिकको उपचारलाई पनि मुख्यमन्त्री थापाले प्राथमिकतामा राखेका छन् । प्रभावित क्षेत्रमा चिकित्सक टोली परिचालन गरिएको छ । घाइतेलाई सुरक्षित स्थानमा ल्याउने, उपचारको व्यवस्था गर्ने र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने काम अघि बढाइएको छ ।

    मुख्यमन्त्री थापाले बाढीपहिरोबाट घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको बताएका छन् । विपद्को समयमा अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई स्वास्थ्य टोली नै प्रभावित क्षेत्रसम्म पुर्याउने प्रयास भइरहेको छ ।

    सातौँ एक्सन - विद्युत् र इन्धनको व्यवस्थापन
    बाढीका कारण कतिपय क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएपछि मुख्यमन्त्री थापाले तत्काल जेनेरेटर र इन्धनको व्यवस्थापन गर्न निर्देशन दिएका छन् । खाना, पानी र औषधिसँगै जेनेरेटरका लागि डिजेल तथा पेट्रोलको व्यवस्थापनलाई पनि अत्यावश्यक सेवाको सूचीमा राखिएको छ । विद्युत् सेवा यथाशीघ्र सञ्चालन गर्ने तयारी भइरहेको मुख्यमन्त्रीले बताएका छन् ।

    यसले राहतलाई केवल खाद्यान्न वितरणका रूपमा होइन, प्रभावित क्षेत्रको दैनिक जीवन सामान्य बनाउने अभियानका रूपमा अघि बढाउन खोजिएको देखिन्छ ।

    आठौँ एक्सन - प्रदेशको सम्पूर्ण संयन्त्र परिचालन
    मुख्यमन्त्री थापाको नेतृत्वमा प्रदेश सरकारका सम्बन्धित मन्त्रालय, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा स्वास्थ्य संस्थाबीच समन्वय बढाइएको छ । रसुवा पुगेपछि उनले सुरक्षा निकाय, स्थानीय तह, प्रशासन तथा सम्बन्धित निकायका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गरी उद्धार, उपचार र राहतको अवस्थाबारे जानकारी लिएका थिए ।

    यसको अर्थ हो, विपद्को जिम्मेवारी एउटा मन्त्रालय वा एउटा कार्यालयको होइन, सम्पूर्ण सरकारको हो । 

    ‘सरकार छ’ भन्ने अनुभूति दिलाउने प्रयास
    प्राकृतिक विपद्ले नागरिकलाई सबैभन्दा पहिले एउटा प्रश्न सोध्छ, संकटमा सरकार कहाँ छ ? भोटेकोशी बाढीपछि मुख्यमन्त्री किरण थापामगरले दिएको जवाफ भने फिल्डबाट आएको छ ।

    उनी प्रभावित क्षेत्रमा पुगेका छन् । सुरक्षा निकाय र स्थानीय प्रशासनसँग बसेर अवस्था बुझेका छन् । राहत तथा उद्धारको व्यवस्थापनमा निर्देशन दिएका छन् । सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग खोजेका छन् । फसेका नागरिक र पर्यटकलाई सुरक्षित स्थानमा ल्याउने पहल गरेका छन् । घाइतेको उपचारदेखि विद्युत् र इन्धनसम्मका विषयमा तत्काल निर्णय लिन खोजेका छन् ।

    प्रदेशले आफैं गरेका कामको फेहरिस्त पनि लामै छ । सुरु दिन नै स्वास्थ सिविर चलायो, प्रदेशले । मृतकका परिवारलाई प्रारम्भिक अवस्थामा जनही २५ हजार खर्च दिने, अलपत्रहरुलाई  निशुल्क रुपमा गन्तब्यमा पुरयाउने, खुलेको बैकल्पिक बाटोको स्तर उन्नतीमा आवश्यक रकम विनियोजन गर्ने, राहातका सामाग्री द्रुतगतिमा बाँड्ने लगायतका कार्य घोषणा बमोजिम सुरु गरिसकेको छ । 

    गत भदौ ४ गते मात्र किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका थिए । तर पद सम्हालेको केही दिनमै आएको भोटेकोशी विपद्ले उनलाई सरकारको नेतृत्व गर्ने अवसर मात्र दिएन, संकटको समयमा नेतृत्व गर्ने क्षमता देखाउने कठोर परीक्षा पनि लिइरहेको छ । 

     




    images
    images

    Logo