काठमाडौं । धितोपत्र बोर्ड तथा नेप्सेको कार्यकारी प्रमुख तत्काल नियुक्त गर्ने प्रतिवद्धता जनाएका अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न नयाँ समिति बनाएका छन् । मन्त्रिपरिषदको निर्णय बमोजिम अर्थ मन्त्रालयले यस्तो समिति बनाएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्व र अर्थसचिव मधु मरासिनी सदस्य रहेको सो समितिमा सदस्यमा डा. जीवनाथ धिताललाई राखिएको छ । यसअघि पनि मन्त्रालयले समिति गठन गरेको थियो जसको विज्ञ सदस्यमा प्रा.डा. नारायण प्रसाद पौडेल सदस्य थिए । यसअघिको समितिको वैधानिकतामा प्रश्न उठेपछि अर्को समिति बनाइएको हो ।