काठमाडौं । मंगलरबार शेयर बजार परिसूचक (नेप्से) ६९ अंकको बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा ६९.२२ अंकको वृद्धि भएर २ हजार ७ सय ८४ दशमलव ५८ विन्दुमा पुगेको हो । आज कारोबार अवधिभर कुल ५ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२७ कम्पनीको १ करोड ९ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आज बजार बढ्नुमा कम्पनीको वित्तीय विवरणमा देखिएको सकारात्मक प्रभाव मुख्य कारण रहेको देखिएको छ । नपाल टेलिकम, अपर तामाकोशी लगायतका कम्पनीको राम्रो रिपोर्टका कारण मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल बंगलादेश बैंकको शेयर पनि आज सकारात्मक सर्किटको अवस्थामा पुगेको छ । मर्जरको हल्लाका कारण आजको बंगलादेश बैंकको शेयरमूल्य बढेकाे हो ।
भोलिदेखि लागु हुनेगरी बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएका छन् । राष्ट्र बैंकको निर्देशसँगै ब्याजदर वृद्धिमा लागेको लगामले पनि शेयर बजारको उत्साहलाई थप बल मिलेको छ । सोही कारण बजारमा आज १ सय ७१ कम्पनीको मूल्य बढ्न सफल भयो । २० ओटा कम्पनीको मूल्य घटेको छ । नयाँ सारथी लघुवित्तको शेयरमूल्य मात्रै आज स्थिर रह्यो ।



