images
images

साताको शेयर बजार : १६ अर्बको कारोबार


  • 294
    SHARES
  • २०७८ कार्तिक २७ गते शनिबार

    साताको शेयर बजार  : १६ अर्बको कारोबार

    काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो ।

    साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो ।

    बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा संस्थाबाट४ करोड रुपैयाँ र बढीमा  १२ करोड रुपैयाँ सम्म मात्रै सेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि बजारले गति समात्न नसकेको विश्लेषण भइरहेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल २ सय ३० कम्पनीको शेयर कारोबार भयो । पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९.३५ अङ्कले नेप्से परिसूचक ओरालो लागेको देखिन्छ । कूल २ करोड ८६ लाख ४ सय ९ रुपैयाँ कित्ता शेयर १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १ सय ९० रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।

    दीपावलीको बिदापछि खुलेको पहिलो कारोबार दिन नै नेप्से परिसूचक भने दोहोरो अङ्कले ओरालो लाग्यो । सोमबार नेप्से १९.२० अङ्कले घटेर दुई हजार ८२९.६४ मा आर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा झरेको थियो । 

    त्यस दिन कारोबार रकम पनि खासै बढेको देखिएन । कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर रु चार अर्ब ४२ करोड सात लाख १९ हजार १ सय ३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण  ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार रुपैयाँ बराबर रहेको थियो ।
     
    नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको  ५२ करोड १० लाख तीन हजार ५ सय ९० रुपैयाँ बराबरको कारोबार भयो ।

    मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ७९.७९ अङ्कले घटेर दुई हजार ७४९.८५ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०२ अङ्कले घटेर ५१२.०२ मा ओर्लियो ।  त्यस दिन नेप्से परिसूचक उच्च अङ्कले घटे पनि कारोबार रकम औसतमा  सीमित रह्यो ।

    कूल २ सय २५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५ सय ४७ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयरमा पहिरो गयो । त्यस दिन नबिल बैंक शीर्ष स्थानमा रही  २९ करोड ८२ लाख ८१ हजार ७ सय ५२ रुपैयाँ कारोबार भयो । मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो ।

    साताको अन्तिम दिन बिहीबार पनि नेप्से उच्च अङ्कले घट्यो । त्यस दिन नेप्से ५९.५७ अङ्कले घटेर २हजार ६९०.२९ मा ओर्लियो ।  यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अङ्कले घटेर ५०२.१९ मा पुग्यो । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा नै सीमित भयो । कूल २ सय २५ कम्पनीको ९४ लाख ७५ हजार ९ सय ३६ कित्ता शेयर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५ सय ४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो ।

    बिहीबार महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रही  ४७ करोड ४९ लाख ३४ हजार ५ सय २१ रुपैयाँ बराबरको कारोबार भयो । कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । 


    images
    images

    Logo