images
images

बिजुली सस्तियो, ग्यास महँगियो : इलेक्ट्रिक किचनको नेपाली सपना पूरा हुँदै


  • 411
    SHARES
  • २०७८ कार्तिक १३ गते शनिबार

    बिजुली सस्तियो, ग्यास महँगियो : इलेक्ट्रिक किचनको नेपाली सपना पूरा हुँदै

    काठमाडौं । नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथा जस्तै थियो । बिजुलीको सहज उपलब्धता थिएन । बिजुली कहिले आउँछ र कहिले जान्छ भन्ने कुराको कुनै टुङ्गो थिएन । विदेशतिर बिजुलीको चुल्होमा खाना पकाउने गरिएको छ भन्दा पनि आश्चर्य मान्नुपर्ने अवस्था थियो ।

    नेपाल विद्युत् प्राधिकरणले हरेक साता निकाल्ने लोडसेडिङको सूचनामा जीवन खोज्न अभिसप्त थिए, नेपाली । समय बदलियो, अवस्थामा परिवर्तन आयो । क्रमशः लोडसेडिङको अन्त्य भयो । 

    अघिल्लो पटक ऊर्जामन्त्री वर्षमान पुनले बिजुलीको महशुल घटाउने पहल गरे । यसपटक सोही मन्त्रालयको जिम्मेवारी सम्हालेको दिनदेखि नै मन्त्री पम्फा भुसालले एउटा नारा दिइन् । त्यो नारा थियो ‘विदेशी ग्यास छाडौं । स्वदेशी बिजुली प्रयोग गरौँ ।’ केही वर्ष पहिलेसम्म बिजुली बाल्ने कुरा नै नेपालीका लागि ठूलो थियो । पछिल्ला दिनमा माथिल्लो तामाकोशीलगायतका आयोजना नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । अब मागअनुसार बिजुली उपलब्ध हुने अवस्था सिर्जना भएको छ ।

    प्रणालीमा झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध भएका सन्दर्भमा मन्त्री भुसालले जानीबुझीकन नै विदेशी ग्यास छाड्ने र स्वदेशी बिजुली उपभोग गर्ने योजना अगाडि सारेकी हुन् । नेपाल आयल निगमको विवरणअनुसार झण्डै ४० अर्ब रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ । शुक्रबार त निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेर प्रतिसिलिण्डर १ हजार ५ सय पु¥याएको छ । अझै पनि ग्यासमा प्रतिसिलिण्डर ४ सय ६१ रुपैयाँ २२ पैसा घाटा रहेको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीको भनाइ छ ।

    यही विषम अवस्थालाई ध्यान दिएर सरकारले खान पकाउनका लागि विद्युतीय चुल्होको बढावा दिन यस पटक बिजुलीको महशुलमा रणनीतिक परिवर्तन गरेको छ । चालू आवका लागि तय भएको महशुल प्रस्थान विन्दु भएको विद्युत् नियमन आयोगको भनाइ छ । आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार सरकारको नीति तथा कार्यक्रम र योजनाअनुसार नै आयोगले विद्युतीय चुल्होको प्रयोग बढोस् भन्ने ध्येयका साथ महशुलमा छुट दिइएको छ ।

    एकातिर देशभित्र बिजुली खपत नभई खेर जाने अवस्था सिर्जना भएको र अर्कोतर्फ भारतले पनि आयात गर्न दिने तर निर्यातमा भने सहजीकरण नगर्ने अवस्था आएपछि प्राधिकरणले विद्युतीय चुल्होको बढावा गर्न लागेको हो । सरकार र त्यसमा पनि विशेष गरी ऊर्जामन्त्री भुसालको योजनाअनुसार नै  विद्युतीय चुल्होका प्रयोग बढाउनका लागि महशुलमा थप प्रोत्साहनको नीति लिइएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी मङ्सिर १ गतेदेखि लागू हुने महसुलमा प्रत्यक्षरुपमा त्यो सुविधाको अनुभव गर्न सकिन्छ ।
     
    आयोगले स्वीकृत गरेको महशुल अनुसार १ सय १ युनिटदेखि २ सय ५० युनिटसम्मको खपत गर्नेलाई यसबाट एउटै स्ल्याबमा राखेर महशुल तोकिएको छ । त्यसमा लाग्दै आएको डिमान्ड शुल्कसमेत घटेको छ । उपलब्ध ऊर्जा खेर नजाने गरी देशभित्रै बिजुलीको माग र खपत बढाउँदै लैजाँदा त्यसको लाभ अन्ततः सबैलाई हुने भएकाले बिजुलीको महशुल क्रमशः घटाउँदै लैजाने नीति लिइएको छ ।

    कार्यकारी निर्देशक घिसिङका अनुसार गत वर्ष १० प्रतिशतले महशुल घटेकामा यसपटक झण्डै चार प्रतिशतले घटेको छ । सिंगल फेजबाट १ सय ५१ देखि २ सय ५० युनिटसम्म बिजुली उपभोग गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताले अब क्रमशः  १ सयदेखि १ सय ५० रुपैयाँ मात्रै तिरे हुने व्यवस्था गरिएको छ । मासिक ४ सय युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकले अब न्यूनतम १ सय ५० र अधिकतम २ सय ५० मात्रै तिरे हुने व्यवस्था गरिएको छ । यो व्यवस्थाका पछाडि विद्युतीय चुल्होको प्रयोगमा बढावा दिने नीतिले काम गरेको छ ।

    विगतमा २५० देखि ४०० सम्म अर्को स्ल्याब थियो । तर, यसपटक त्यो स्ल्याब राखिएको छैन । नयाँ व्यवस्थाअनुसार अब २५० माथि सबै एउटै स्ल्याब राखिएको छ । आयोगले स्वीकृत गरेको महशुलअनुसार अब २५० युनिटभन्दा बढी जति खपत गरे पनि एउटै महशुल कायम गरिएको छ । स्वीकृत महशुलअनुसार ४०० युनिटभन्दा माथिको हकमा प्रतियुनिट ११ रुपैयाँ मात्रै तिरे हुने व्यवस्था गरिएको छ । घरायसी ग्राहकले सकेसम्म धेरै बिजुली खपत गर्न सकुन् भनेर प्रोत्साहनको नीति अगाडि सारिएको छ ।

    मन्त्री भुसालका अनुसार यसपटक खासगरी ५ प्रतिशतसम्म महशुल घटेको छ । यस्तै, कमजोर आय भएका र २० युनिटसम्म बिजुली प्रयोग गर्ने ग्राहकले ३० रुपैयाँ मात्रै तिरे हुने व्यवस्था जनतालाई खास अर्थमा दिइएको राहत भएको उनको भनाइ छ । मन्त्री भुसाल प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुन् । प्राधिकरणले पछिल्ला वर्षमा लगातार मुनाफा गरेको र आगामी दिनमा अझै राम्रो गर्दै जाने नीति र कार्यक्रम अगाडि सारिएको पनि महशुल घटाएर राहत दिइएको मन्त्री भुसालको भनाइ छ । अब लागत घटाउने, प्राधिकरणका अन्य खर्च घटाउँदै जाने लक्ष्यका साथ नीति तथा योजना अगाडि सारिएको हो ।

    प्राधिकरणले बिजुलीको खपत बढाउन प्रसारण र वितरण प्रणालीमा योजनाबद्धरुपमा सुधार गरिरहेको छ । ट्रान्सफर्मरको क्षमता वृद्धि, कन्डक्टर परिवर्तन तथा बढी माग हुने क्षेत्रमा अन्य प्राविधिक सुधारसमेत गरिरहेको छ । यसले आन्तरिकरुपमा नै बिजुलीको खपत हुने वातावरण क्रमशः बन्दै जाने अनुमान गरिएको छ ।


    images
    images

    Logo