काठमाडौं । सोमबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९७ अंकले बढेर २ हजार ७ सय ५८ दशमलव ४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको १० अर्ब ५४ करोड रुपैयाँ बराबरको २ करोड ३० लाख कित्ता शेयर किनबेच भएको छ ।
सोमबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय २६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १२ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.७० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ४.९९ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक १.९१ प्रतिशत बढेको छ। यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक करिब २ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको २७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ४ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा तारागाउँ रेजेन्सी, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर रहेका छन् । त्यस्तै, यस दिन अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।



