काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से यस दिन भने बढेर बन्द भएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अंक बढेर २ हजार ७ सय ३८ दशमलव ६ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय २५ स्क्रिपको ९ अर्ब ७७ करोड रुपैयाँ बराबरको २ करोड २४ लाख कित्ता शेयर किनबेच भएको छ ।
यस दिनको कारोबार रकम करिब २ महिनायताकै उच्च हो। यस अघि गत भदौ ३० गते नेप्सेमा १० अर्ब ३३ करोडको शेयर कारोबार भएको थियो। सोपश्चात यस दिन नै नेप्सेमा सर्वाधिक कारोबार भएको हो।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४।२६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सानिमा जिआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३८ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन समृद्धि फाइनान्सको ३४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम २७ करोड नाघेको छ।
यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था, श्रृजनशील लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन इष्टर्न हाइड्रोपावर, पिपुल्स पावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढी बढेको छ।



