काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.४४ अंकले घटेर २ हजार ६ सय ९७ दशमलव ९१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १५ स्क्रिपको ८ अर्ब १८ करोड रुपैयाँ बराबरको २ करोड ८ लाख कित्ता शेयर किनबेच भएको छ ।
आइतबार नेप्से घटेर बन्द भएपनि काराबोर रकम बढेर बन्द भएको छ । गत साताको विहीबार ७ अर्ब १९ करोड रुपैयाँ बराबरकोे शेयर कारोबार भएको थियो । आज १८ कम्पनीको शेयर मूल्य बढेको छ भने २ सय २६ कम्पनीको शेयर मुल्य घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्यूत, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोडमाथिको शेयर कारोबार भएको छ । कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २६ करोड ५ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मुल्यमा सकारात्म सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा कुथेली बुखारी स्मल हाइड्रोपावर रहेको छ । यस्तै, ङादी ग्रुप पावरको शेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । हिमालयन लघुवित्तको शेयर मूल्य ५.९२ प्रतिशतले बढेको छ ।



