काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९ सय ४ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम हुने गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो।
सो शेयरका लागि लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि कात्तिक २६ गतेसम्म लम्बिनेछ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३ सय ४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७ सय २८ रुपैयाँ २५ पैसा पुग्नेछ।



