काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ४७ अङ्कले उकालो लागेर २ हजार ७ सय ४५ दशमलव ३६ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३१ अङ्कले उकालो लागेर ४ सय ९५ दशमलव ३० मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा छ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कूल १ करोड ८८ लाख ७ हजार ४ सय ९२ कित्ता शेयर ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १ सय ६६ रुपैयाँ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार, गुडविल फाइनान्स सात दशमलव ६३, एनआइसी एशिया सेलेक्ट फण्ड छ दशमलव १९, सनराइज ब्ल्यूचिप फण्ड छ दशमलव १४, समाज लघुवित्त पाँच दशमलव १२ र रावा इनर्जीका लगानीकर्ताले पाँच दशमलव १२ प्रतिशतले कमाएका छन् ।
यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव १९, मिड सोलु हाइड्रोपावर पाँच दशमलव शुन्य तीन, सामुदायिक लघुवित्त चार दशमलव ४७, नेपाल एसबिआई बैंकको ऋणपत्र तीन दशमलव ८८ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले तीन दशमलव ४१ प्रतिशतले गुमाएका छन् ।



