काठमाडौं । दशैँ अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन करिब साढे २७ अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो ।
आज कारोबारमा आएका २ सय ९४ स्क्रिपको ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता शेयर किनबेच भएको छ । बुधबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत बढेको छ। अरु ८ उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ। यस दिन विकास बैंक, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।
आज कारोबारमा आएका १ सय ३० कम्पनीको शेयर मुल्य बढेको छ । १ सय २ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा बैंकको करिब १९ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्स्को साढे १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा युनाइटेड मोदी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर रहेका छन् । त्यस्तै, यस दिन अप्पर साङ्गे हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भन अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ।



