काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले धितोमा स्वीकार गरेको शेयरहरु बेच्न कडाई गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार एक परिपत्र जारी गर्दै मार्जिन कल गर्दा उक्त शेयरमा प्राप्त हुन यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको शेयर संख्यामा गणना गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
शेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सो को मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने भएको छ।
एकीकृत निर्देशनमा भनिएको छ ‘सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्नेछ । इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ । मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने एकिन भएको हकप्रद र बोनस सेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ ।’
अन्य व्यवस्था यस अघि नै रहे पनि ” इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ” भन्ने व्यवस्था अहिले थपिएको हो ।



