काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ११०.७३ अंक बढेर २ हजार ५ सय ९७ दशमलव ४९ विन्दुमा पुगेको छ। यस साता चार कारोबार दिनका लागि खुलेको बजारमा दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो। यस साता सोमबार र मंगलबार नेप्से बढेको थियो भने आइतबार र बुधबार नेप्से घटेको थियो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३९ खर्ब ५४ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता १ खर्ब ७६ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ।
१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १४.१३ प्रतिशत बढेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६३ प्रतिशत घटेको छ।
साताको पहिलो दिन आइतबार २२.३६ अंकले घटेर २ जार ४ सय ६४ दशमलव ४० विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमाबार ४४.२५ अंकले बढेर २ हजार ५ सय ८ दशमलव ८६ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस्तै, मंगलबार ११४.७० अंकले बढेर २ हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगेको थियो । सो दिन ७ अर्ब ४८ करोड रुपैयाँमा बराबरको शेयर कारोबार भएको थियो । साताको अन्तिम दिन बुधबार २६.०७ अंकले घटेर २ हजार ५ सय ९७ दशमलव ४९ विन्दुमा पुगेको थियो । सो दिन ६ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
विहीबार घटस्थापना परेको कारणले सरकारले सार्वजनिक विदा दिएको थियो । सोही कारणले शेयर कारोबार बन्द भएको थियो । यस साता नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १२ लाख ८२ हजार १ सय ८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
अहिले सेयर खरिद गर्दा जोखिम कम रहेको देखिन्छ । लाभांशको सिजन चलेको छ । सेयरहरु सस्ता भएका छन् । यी कारणहरुले आगामी दिनहरुमा समग्रमा बजारको गति सकारात्मक हुँदै जाने अनुमान गर्न सकिन्छ ।



