काठमाडौं । गत बिहीबारदेखि शनिबारसम्मको अविरल वर्षा तथा बाढीपहिरोका कारण देशभरमा ७ अर्बभन्दा बढीको बालीनाली तथा पशुधन क्षति भएको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
हालसम्म प्राप्त विवरणअनुसार ७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको पाइएको मन्त्रालयले जनाएको छ । देशभरबाट विवरण अद्यावधिक हुने क्रम जारी नै रहेकाले क्षतिको विवरण थप हुने निश्चित छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मंगलबार दिउँसोसम्म आएको विवरणअनुसार देशभर ५८ हजार ४७६ हेक्टरमा धानबाली नष्ट भई ३ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ, जसमध्ये मधेश प्रदेशमा मात्रै ४२ हजार हेक्टर खेतमा लगाइएको धानबाली नष्ट भएको छ ।
त्यसैगरी, १३ सय हेक्टर क्षेत्रफलमा लगाइएको अलैंची खेती नष्ट भई ७० करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैगरी, ८५ हेक्टरमा लगाइएको उखु खेती पनि बाढीका करण नष्ट भएको छ । मधेश प्रदेशमा लगाइएको उक्त उखु खेती नष्ट हुँदा ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यसैगरी, ४५८ हेक्टर माछापोखरीमा १ अर्ब १३ करोड रुपैयाँको क्षति भएको छ ।
२४ पशु गोठमा क्षति पुग्नुका साथै २२ हजार २०५ पशुपन्छी मरेका छन् ।



