images
images

काठमाडौं भित्रिने ३ राजमार्गसहित देशभरका ५८ सडक ठप्प


  • 449
    SHARES
  • २०८१ आश्विन १३ गते आइतबार

    काठमाडौं भित्रिने ३ राजमार्गसहित देशभरका ५८ सडक ठप्प

    काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभरका ५८ वटा सडक राजमार्ग अवरुद्ध भएका छन् । सडक विभागका अनुसार, लगातारको वर्षाका कारण बाढी, पहिरो र अन्य कारणले सडक अवरुद्ध हुँदा यातायात सञ्चालन ठप्प भएको हो ।

    लगातारको वर्षाले काठमाडौं उपत्यका भित्रिने मुख्य नाका पृथ्वी राजमार्ग, कान्ति राजमार्ग र बीपी राजमार्गसमेत अवरुद्ध भएका छन् ।

    विभागका अनुसार वर्षाले अवरुद्ध हुने राजमार्गहरुमा तमोर करिडोरअन्तर्गत चतरा–गणेशचोक सडकखण्ड, कान्ति राजमार्गअन्तर्गत हेटौंडा–एकान्तकुना सडकखण्ड, त्रिभुवन राजपथ, अरनिको राजमार्गको सिम्ले, कोदारी, मध्यपहाडी राजमार्गको सिन्धुलीका धेरै ठाउँमा पहिरो र भेरी करिडोर, भेडेटार रबि राके सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध छन् ।

    मुग्लिङ नौबिसे हुँदै काठमाडौं भित्रिने सडकमार्ग पनि यतिबेला अवरुद्ध छ । खासगरी, धादिङको झ्याप्ले खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

    त्यस्तै, पृथ्वी राजमार्गको अन्य विभिन्न ठाउँमा पनि पहिरो गएको सडक विभागले जनाएको छ । बीपी राजमार्गमा तत्काल खुलाउन सक्ने अवस्था छैन ।

    बीपी राजमार्गका विभिन्न ठाउँमा गरेर १ हजार ४०० मिटर बाटो नै भत्किएको विभागले जनाएको छ ।

    त्यस्तै, अरनिको राजमार्गका पनि विभिन्न ठाउँमा पहिरो र पुल समेत बगाएको छ । मुग्लिन हुँदै काठमाडौं भित्रिने पृथ्वी राजमार्गको पहिरो हटाएर साँझसम्म यातायात सञ्चालनमा ल्याउन पहिल भइरहेको सडक विभागल जनाएकाे छ ।

    बीपी राजमार्ग तत्काल खुलाउन सक्ने अवस्था छैन । ठाउँठाउँमा पहिरो गएको र बाटो नै भत्किएको छ । मुग्लिन हुँदै काठमाडौं जोड्ने सडक नागढुंगाभन्दा तलको पहिरो हटाउने प्रयास भइरहेकाे र बेलुकासम्म यातायात सञ्चालन गराउन सकिइने विभागले जनाएकाे छ । 

    विभागले वर्षाका कारण बाढी, पहिरो र अन्य कारणले सडक अवरुद्ध हुने बित्तिकै जनशक्ति खटाएर यातायात सुचारु गर्ने गरेको छ । चाडपर्वका बेला सडक अवरुद्ध हुन सक्ने भन्दै विभागका जनशक्ति, मेसिन तथा उपकरणहरू तयारी अवस्थामा राखिएको छ छ ।

    सडक अवरुद्ध हुँदा साढे १६ करोड रुपैयाँको प्रारम्भिक क्षति अनुमान गरिएको छ । त्यस्तै, सडक राजमार्गमा बनेका १० वटा पुलमा समेत क्षति पुग्दा करिब झन्डै ३० करोड बराबरको क्षति भएको अनुमान गरिएको विभागले जनाएको छ ।


    images
    images

    Logo