काठमाडौं । मधेश प्रदेश सरकारद्वारा प्रस्तुत एक तथ्यांकमा प्रदेशका वनक्षेत्रमध्ये पाँच हजार छ सय ९२ हेक्टर भन्दाबढी वन अतिक्रमण भएको जनाइएको छ । वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको लापरबाही तथा कमिकमजोरीका कारण मधेश प्रदेशमा वन अतिक्रमण बढेको उल्लेख छ । वन कर्मचारीले सुविधा तथा लाभ लिने स्थान मात्र रोज्ने कारण वन अतिक्रमण बढेको जनगुनासो समेत छ ।
मधेश प्रदेश वन मन्त्रालयबाट प्राप्त विवरण अनुसार प्रदेशमा करिब दुई लाख दुई हजार दुई सय हेक्टर जमिन वनजङ्गलले ढाकेको छ, तर संरक्षण नहँदा पाँच हजार छ सय ९२ हेक्टर वनको जमिन अतिक्रमण भएको जनाइएको छ ।
प्राप्त विवरणमा सप्तरीमा ७.२५ हेक्टर, सिरहामा ९९३.१४० हेक्टर, धनुषामा ८७२ हेक्टर, महोतरीमा ३२९.८० हेक्टर, सर्लाहीमा १६४.७८ हेकटर, रौतहटमा ३१९०.५४० हेक्टर, बारामा ०.३४० हेक्टर तथा पर्सामा १३४.३२० हेक्टर वन अतिक्रमण भएको मन्त्रालयले जनाएको छ । मधेश प्रदेशको कूल क्षेत्रफलको २२.८ प्रतिशत वनको क्षेत्रफल रहेको छ । कूल वनक्षेत्रमध्ये ७१ हजार तीन सय ६९ हेक्टर वनको क्षेत्र पाँच सय ४ वटा सामुदायिक वनका रुपमा व्यवस्थापन हुँदैआएको छ ।
४० लाख ९१२.३३ हेक्टर वन १६ साझेदारी वनका रुपमा व्यवस्थापन भइरहेको छ । नेपालमा पूर्णरुपमा वनक्षेत्र नभएका एक सय पाँच स्थानीय तह छन् । जसमध्ये करिब ८० प्रतिशत मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशका १३६ स्थानीयतहमध्ये ८९ मा वनक्षेत्र छैन । वनक्षेत्र भएका स्थानीयतहमध्ये पनि करिब तीन चौथाइ स्थानीयतहमा ०.५ प्रतिशत भन्दा कम वनक्षेत्र रहेको विवरणमा उल्लेख छ ।
वन संरक्षण, तथा अतिक्रमणका सम्बन्धमा भए-गरेका विभिन्न अध्ययनमा पहाड, तराई तथा भित्रि मधेशका जिल्लामा विभिन्न राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, संरक्षित वन क्षेत्रका जमिन अतिक्रमण भएको बताइएको छ ।



