काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी विकास कोषले पौने १ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको कोषको परिषद बैठकमा कोषाध्यक्ष ढुण्डिराज भट्टराईले सो बराबरको अनुमानित बजेट पेस गरेका हुन् ।
कोषाध्यक्ष भट्टराईले आन्तरिकतर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षीय कार्यक्रमका लागि ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट पेस गरे ।
बैठकमा मन्त्री पाण्डेले पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्त्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना ल्याइने बताए । मन्त्री पाण्डेले लुम्बिनीबाट विश्वमा बुद्धको सत्मार्ग र सदाचारको सन्देश दिनुपर्ने बताउँदै यसका लागि लुम्बिनी विकास कोषसँगै समुदाय, पर्यटन व्यवसायी र लुम्बिनीमा रहेका गुम्बा बिहारहरूबीच एकता आवश्यक रहेको बताए ।
परिषद्मा पेस भएका नीति कार्यक्रम र बजेटमाथि छलफल गरी लुम्बिनीको प्रवर्द्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रूपमा स्थापित गर्ने गरी अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ ।
कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्त्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना देखिने गरी अर्को परिषद बैठक मार्फत पारित गर्ने बताए ।
बैठकमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफू लुम्बिनी बनाउने दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गरेको बताउँदै आम्दानी निकै थोरै भएकाले चाहेर पनि धेरै काम गर्न नसकिएको बताए ।
उनले आगामी दिनमा रचनात्मक कामका साथ बुद्धजन्मस्थल लुम्बिनीको विकासमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए । आवको दोस्रो महिनापछि मात्र कोषले बजेट ल्याउन लागेको हो ।



