काठमाडौं । अवैध रुपमा अमेरिका छिर्ने लोभमा करिब एक सय जना नेपाली ब्राजिल पुगेर अलपत्र परेका छन् । मानव तस्करको प्रलोभनमा लाखौं रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका हिंडेका नेपालीसहित झन्डै सात सय आप्रवासी ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन् । ती मध्ये अरु अधिकांश भारतीय र भियतनामका नागरिक हुन् ।
दक्षिण अमेरिकी मुलुक ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्ने लक्ष्यसहित हिँडेका नेपालीहरु करिब एक सय जना रहेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ ।
ब्राजिलले आफ्नो भूमिलाई ट्रान्जिट बनाएर शरण लिन खोज्नेहरुलाई प्रवेश अनुमति नदिएपछि करिब एक सय नेपालीसमेतलाई त्यहाँको सरकारको नियन्त्रणमा लिएर बन्दी जस्तै बनाएको हो । तर आफूहरु अप्ठ्यारोमा परेको भनेर नेपालीहरु कसैले पनि दूतावासमा जानकारी गराएका छैनन् ।
लाखौं रकम असुलेर मानव तस्करहरुले ब्राजिल लगायतका देशमा पुर्याएर शरणार्थी बनाउने र त्यहाँबाट कोलम्बिया,पनामा, पेरु, ग्वाटेमाला हुँदै मेक्सिको जाने अनि अमेरिका छिराउने प्रयास गर्छन् । त्यही क्रममा कैयौंको बाटोमै ज्यान जान्छ । कैयौं मोटो रकम डुबाएर फर्काइन्छन् ।
भारतीय, भियतनामी र नेपालीसहित करिब सात सयलाई नियन्त्रणमा लिएको ब्राजिल सरकारले सोमबार देखि लागू हुने गरी नियमन कडा बनाएको छ। आप्रवासीको अवैध आवागमन रोक्न ब्राजिलले जुन एयरलाइन्सले त्यहाँ पुर्याएको हो उसैले फिर्ता लैजानु पर्नेछ।



