काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई आईपीओमार्फत उठेको प्रिमियम रकम तत्काललाई जगेडा कोषमा राख्न निर्देशन दिएको छ ।
प्रिमियममा आईपीओ जारी गरेका बीमा कम्पनीहरूलाई प्राधिकरणले बुधबार पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो । यसको अर्थ त्यो रकमबाट बीमा कम्पनीहरुले बोनस सेयर दिन नसक्ने भएका छन् ।
संसद्को लेखा समितिले बीमा कम्पनीहरुले प्रिमियममा आईपीओ जारी गरेको विषयमा अध्ययन गर्न निर्देशन दिएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।
प्रिमियममा आइपीओ ल्याएकामध्ये हिमालयन रिइन्स्योरेन्सबाहेक अन्य जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरु अंकित मूल्यमै र अन्य सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर बेचेका छन् ।
हिमालयन रिइन्स्योरेन्सले कुल ३ करोड कित्ता आइपीओ निष्कासनको अनुमति पाएको थियो । यो कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर २०६ रुपैयाँ आइपीओ बिक्री गरेको थियो । यो कम्पनी प्रिमियमबापत ३ अर्ब १८ करोड रुपैयाँ उठाएको छ । अब यो रकम कम्पनीले जगेडामा राख्नुपर्नेछ ।
यसैगरी सिटिजन लाइफले १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । कम्पनीले ५ लाख ६२ हजार ५०० कित्ता शेयर कर्मचारीलाई अंकित मूल्यमै र १ करोड ६ लाख ८७ हजार ५०० कित्ता अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो । यो कम्पनीले प्रिमियमबापत १ अर्ब ५३ करोड ९० लाख रुपैयाँ उठाएको थियो । यो रकम कम्पनीले अब जगेडामा जम्मा गर्नुपर्नेछ ।
सन नेपाल लाइफले ९६ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । कम्पनीले ४ लाख ८० हजार कित्ता शेयर कर्मचारीलाई अंकित मूल्यमै र ९१ लाख २० हजार कित्ता अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो । यो कम्पनीले प्रिमियमबापत १ अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ उठाएको थियो। यो रकम अब जगेडामा राख्नुपर्नेछ ।
त्यस्तै रिलायबल नेपाल लाइफले १ करोड २० लाख कित्ता आइपीओ बिक्री गरेको थियो । कम्पनीले ६ लाख कित्ता शेयर कर्मचारीलाई अंकित मूल्यमै बेचेको थियो । बाँकी १ करोड १४ लाख कित्ता अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो। यो कम्पनीले प्रिमियमबापत १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ उठाएको थियो। कम्पनीले यो रकम अब जगेडामा जम्मा गर्नुपर्नेछ ।
आइएमई लाइफले पनि १ करोड २० लाख कित्ता आइपीओ बिक्री गरेको थियो । कम्पनीले ६ लाख कित्ता शेयर कर्मचारीलाई अंकित मूल्यमै बेचेको थियो । बाँकी १ करोड १४ लाख कित्ता अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो । यो कम्पनीले प्रिमियमबापत १ अर्ब ५६ करोड ७ लाख ७४ हजार रुपैयाँ उठाएको थियो। यो रकम अब जगेडामा राख्नुपर्नेछ ।



