काठमाडौं । सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो। कम्पनीले बुक बिल्डिंग विधिबाट शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको छ । यस निष्काशनमा आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ १० गतेसम्म आवेदन दिईसक्नु पर्नेछ । उद्योग प्रभावित स्थानीयले छिटोमा माघ १० र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।
कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं। ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं। १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं। २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं। १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं। ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं। ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गर्न लागेको हो।
कम्पनीले यस अघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गरेको थियो । दोस्रो चरणमा अहिले उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गर्न लागेको हो । यस पछि कम्पनीले तेस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।



