काठमाडौं । विहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अंकले घटेर २ हजार ६८ दशमलव ९० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ३ स्क्रिपको ४ अर्ब २९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर किनबेच भएको छ ।
विहीबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय ३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३५ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ ।
बिहीबार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको १३ करोड ४३ करोडको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
विहीबार १ कम्पनीको शेयरमल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा भिजन लुम्बिनी उर्जा कम्पनी रहेको छ । त्यस्तै, चिरख्वा हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयर ९.९९ प्रतिशतले बढेको छ । मनकामना इन्जिनियरिङ र मुक्तिनाथ कृषि कम्पनीको ९.९८ प्रतिशतले बढेको छ ।



