काठमाडौं । बुधबार शेयर बजार घटेर बन्द भएको छ । गत साताको बिहीबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.२३ अंकले घटेर २ हजार ७० दशमलव ८४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ७ स्क्रिपको ५ अर्ब २४ करोड रुपैयाँ बराबरको १४ करोड ३३ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ८३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५९ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफको १६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
विहीबार ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा नेपाल इन्स्योरेन्स कम्पनी, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ र चिरख्वा हाइड्रोपावर रहेका छन् । यस्तै, ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।



