काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लागि सोल्टी होटल र भगवती हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज हो ।
दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बिहीबार पुस ५ गते बुक क्लोज गर्दैछ । भगवती हाइड्रोपावरले पुस २४ गते, मंगलबार, अर्पण ब्यान्केट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३ सय ३६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट ७ जना र साधारण शेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
त्यस्तै, सोल्टी होटलले पुस २६ गते, बिहीबार नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा बिहान साढे १० बजे बस्नेगरि सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।



