काठमाडौं । मंगलबार नेप्से २१ सय विन्दुमा उक्लिएको छ । मंगलबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.९८ अंकले बढेर २ हजार १ सय ६ दशमलव २८ विन्दुमा पुगेको छ । यो करिब ५ महिना यताकै उच्च हो। यस अघि गत साउन ११ गते नेप्से परिसूचक २१२६.८ विन्दुमा रहेको थियो।
मंगलबार ३ सय १३ स्क्रिपको ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको १ करोड ६४ लाख कित्ता शेयर किनबेच भएको छ । आज नेप्से बढेपनि कारोबार रकम भने केही घटेको छ । सोमबार ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज १ सय ८३ कम्पनीको शेयर मूल्य बढेको छ । ५३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.९४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूच्क ४.७४ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमिूहको परिसूचक ३.१२ प्रतिशत बढेको छ। कारोबारमा आएका बैंकिङ्ग, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको ३७ करोड ४३ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। सोल्टी होटलको २८ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने सोनापुर मिनरल्सको १६ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्टको १४ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
मंगलबार ११ कम्पनीको शेयर सर्किट लागेको छ । त्यसैगरी, यस दिन अन्य ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।



