काठमाडौं । हिमालयन रि–इस्योरेन्सको आईपीओमा तेस्रो दिनसम्ममा ३ अर्ब ७२ करोड ११ लाख ४० हजार ७ सय ४० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आजसम्ममा १० लाख ७ सय १८ जनाले १ करोड ८० लाख ६३ हजार ७ सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको हो ।
कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १ सय रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो । कम्पनीले ३ करोड कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ।
कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आईपीओ बिक्री खुला गर्नेछ। सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।



