काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै १ अर्ब २४ करोड २३ लाख ४० हजार ६ सय ८० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज साँझसम्ममा ३ लाख ३७ हजार ९ सय ६४ जनाले ६० लाख ३० हजार ७ सय ८० कित्ताका लागि आवेदन दिएका हु्न् ।
कम्पनीले आज मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको हो ।
कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ। कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। अब बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गर्नेछ। सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।



