काठमाडौं । आइतबार शेयर बजार परिसूचकमा सकारात्मक सर्किट ब्रेक लागेर बन्द भयो । मौद्रिक नीतिमा राष्ट्र बैंक लचक भएपछि शेयर बजारमा यो प्रभाव देखिएको हो ।
शुक्रबार आएको मौद्रिक नीतिको समीक्षामा ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशतमा झार्ने व्यवस्था गरिएको थियो । त्यस्तै, अल्पकालीन ब्याजदरहरुको सीमामा समेत हेरफेर गरिएको थियो । यो व्यवस्थाले शेयर बजारलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिए पनि सकारात्मक सर्किट अपेक्षित थिएन । त्यही भएर कतिपले यसलाई बजारमा बुलको संकेतको रुपमा समेत बुझेका छन् ।
सरकारी नीति तथा प्रयासहरुको प्रभाव बजारमा सधैँ एकैनास हुँदैन । कहिलेकाहीँ सानो प्रयासको प्रभाव ठूलो हुन्छ, कहिले ठूलो प्रयास समेत काम लाग्दैन । अहिले राष्ट्र बैंक गरेको व्यवस्था धेरै ठूलो उदारता होइन । तर, स्वार्थ समूहकाे दबावबिना नै बजार सुधारका लागि गरेको सानो प्रयासले बजारलाई एकैपटक सकारात्मक सर्किटको अवस्थामा पुर्याइदिएको हो ।
हिजोको वृद्धिसँगै आजको बजारमा दुई किसिमको प्रवृत्ति देखिनेछ । पहिलो नाफा बुक गर्ने र दोस्रो बजार थप बढ्ने आशामा शेयरको माग बढाउँदै लैजाने । हुन त बजार बढ्दै जाँदा अर्को दिन घट्ने र घट्दै जाँदा अर्को दिन बढ्ने सम्भावना नै बढी हुन्छ । सोही कारण आइतबार १११ अंकको उछालपछि आज करेक्सनको सम्भावना बढी छ । तर, आज बजार बढ्यो वा करेक्सन हुँदा पनि सामान्य अंकले भयो भने यसलाई बजारको सुधारको टर्निङ प्वाइन्ट मान्न सकिने अवस्था हुन्छ ।
त्यसो त १८०० देखि २२०० को बीचमा धेरैपटक फन्को लगाइसकेको बजार अहिले पनि २००० भन्दा तल नै छ । त्यसैले आइतबारको वृद्धिबाटै अतालिएर बेच्नुपर्ने अवस्था होइन । यही मनोविज्ञान बजारमा हाबी भयो भने यसले बजारमा सम्भावित बुलको आमन्त्रण गर्न सक्छ ।



