images
images

पृथ्वीराजमार्गको मादी नदीमा ‘आर्क डिजाइन’को नयाँ पुल निर्माण


  • 494
    SHARES
  • २०८० मंसिर २० गते बुधबार

    पृथ्वीराजमार्गको मादी नदीमा ‘आर्क डिजाइन’को नयाँ पुल निर्माण

    तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’को पुल निर्माण सुरु गरिएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदी माथि उक्त पुल निर्माण थालिएकोे हो ।  

    अनप जेडआइसि जेभी चाइनिज निर्माण कम्पनीले पुल निर्माणको लागि ठेक्का गरेको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । तीन सय पन्ध्र मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०२२ अगष्ट ११ सम्झौता गरेको हो । उक्त पूर्वी खण्डमा हालसम्म ३८ प्रतिशत कार्य प्रगति भएको उहाँले बताए । 

    हालको मादीपुलबाट करिब ५० मिटर दुरीमा नयाँ पुल निर्माण भइरहेको छ, उनले भने “पुल निर्माणका लागि १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता छ ।” ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ ।

    पूर्वीखण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले लिएको छ । उक्त खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । यस खण्डको काम २०७८ वैशाख २ मा गरिएको  हो । ४१.४५ किलोमिटर दूरीको यो खण्डको काम २०८१ वैशाखसम्म सक्नुपर्ने सम्झौता भएको छ ।

    मुआब्जा निर्धारण  

    त्यसैगरी पृथ्वीराजमार्गको पूर्वी खण्ड अन्तर्गत डुम्रे बजार क्षेत्रका एक सय साठी वटा भौतिक संरचनाको १५ करोड १३ लाख रुपैयाँ मुआव्जा निर्धाररण गरिएको छ । त्यसैगरी सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाको ६ करोड  बराबरको मुआब्जा निर्धारण गरिएको इञ्जिनीयर पाण्डेले जानकारी दिए । डुम्रे बजारका तीन÷चारजना बाहेक अन्य सबैले मुआब्जाको पहिलो किस्ता लिएका छन् भने दमौलीमा करिब ४० जनाले मुआब्जाको पहिलो किस्ता लिएका छन् । 

    यसैगरी पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका कार्य भइरहेको छ । राजमार्गको पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी सडक पर्दछ । 


    उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले गरिरहेको भएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनीयर नारायण पौड्यालले जानकारी दिए । २०७८ भदौबाट काम सुरु भएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको हो । 

    पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार मा ठेक्का सम्झौता भएको छ । उक्त खण्डमा हालसम्म १२ प्रतिशत मात्र भौतिक प्रगति भएको बताइएको छ । 


    images
    images

    Logo