काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपीओ मंगलबार बाँडफाँड गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलको कार्यालयमा मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड गरिएको हो । आइपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो ।
क्यापिटलका अनुसार १३ लाख ४० हजार १९९ आवेदकबाट कुल १ करोड ४५ लाख ४० हजार ३१० कित्ता माग भएको थियो । जसमा १२ लाख ७४ हजार ५६७ आवेदकबाट परेको १ करोड ३६ लाख ४ हजार ९१० कित्ता सदर भएको छ भने बाँकी ६५ हजार ६३२ आवेदकबाट परेको ९ लाख ३५ हजार ४०० कित्ता विभिन्न कारणले रद्द र बदर भएका छन् ।
कम्पनीले दोस्रो चरणमा गत मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो । जसअनुसार ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको थियो ।
मागभन्दा बढी आवदेन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको । जसमा सदर आवदेकमध्ये भाग्यमानी १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबले सदर आवेदकमध्ये ११ लाख ५९ हजार ७६७ आवेदकको हात खाली भएको छ ।
यो आईपीओ अन्तिम नतिजा केहीबेरमा सीडीएससी, धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ ।



