काठमाडौं । शेयर बजारको गिरावटले आज सोमबार पनि निरन्तरता पाएको छ। गत साताको सोमबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४२ अंकले घटेर १ हजार ८ सय ४७ दशमलव ८१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ९२ स्क्रिपको १ अर्ब १९ करोड रुपैयाँ बराबरको ३८ लाख ९६ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार ९६ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.९७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो।
यो दिन सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ७ करोड ४६ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। हिमालयन डिस्टिलरीको पनि ७ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सोमबार समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन एनएमबि बैंकको ऋणपत्र र तेह्रथुम पावरको शेयरको मूल्य करिब ६ प्रतिशत बढेको छ।



