काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओमा १ अर्ब १४ करोड ५३ लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्ममा १० लाख ५५ हजार ६ सय ३८ जनाले १ करोड १४ लाख ५३ हजार ९ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १०.०३ गुणा बढी हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणका लागि गत मंसिर १० गतेबाट आईपीओ निष्कासन गरेको हो।
त्यसैगरी, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५ सय कित्ता शेयर आफ्ना कर्मचारीका लागि र ६८ लाख ७५ हजार ५ सय बराबरको ६८ हजार ७ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको छ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १ लाख ४१ हजार १ सय २५ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।



