काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिनसम्ममा १३ लाख २२ हजार ९ सय ५४ जनाले १ करोड ४३ लाख २८ हजार १ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १२.४८ गुणा बढी हो ।
मुक्तिनाथ कृषि कम्पनीले गत मंसिर ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो।कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपश्चात आजबाट दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको आज अन्तिम दिन हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणको सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।
अहिले दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको थियो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १ लाख १४ हजार ८ सय आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।



