काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई कारवाही गरेको छ । बोर्डले आर्थिक बर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारवाही स्वरुप जरिवाना तिराएको हो ।
धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका ती कम्पनीहरुलाई गत कात्तिक २० गते पत्र काट्दै १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। कम्पनीहरुबाट चित्तबुझ्दो जबाफ नआएपछि कारबाहीस्वरुप ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद जरिवाना गरेको हो ।
धितोपत्र बोर्डले ६९ कम्पनीलाई ढिला वित्तीय विवरण बुझाएकोमा जनही ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने जनही १ लाख रुपैयाँका दरले जरिवाना गरिएको छ।
वित्तीय विवरण ढिला बुझाउनेमा अधिकांश माइक्रोफाइनान्स र जलविद्युत् कम्पनी छन् । केही अरु समूहका कम्पनीहरु पनि कारबाहीमा परेका छन्।



