काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर सर्वसाधारणले ३६०.९० रुपैयाँमा पाउने भएका छन् । सिमेन्टले पहिलो चरणमा योग्य संस्थागत शेयरधनीलाई बुक विल्डिङ विधिमार्फत शेयर निष्काशन गरि ४०१ रुपैयाँ कटअफ मूल्य निधारण भएसँगै सर्वसाधारणका लागि यो मुल्य तय भएको हो । कटअफ मूल्यको १० प्रतिशत छुटमा सर्वसाधारणलाई शेयर विक्री गर्ने कानुनी व्यवस्था छ ।
कम्पनीको शेयरमा ४१ वटा योग्य संस्थापक लगानीकर्ताले कुल ३६ लाख १९ हजार कित्ताको लागि बोलकपत्र पेश गरेका थिए । कम्पनीले पहिलो चरणमा मसिंर ६ गतेदेखि मसिंर १० गतेसम्म योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीको सेयरका लागि संस्थाहरुलाई न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँ ५० पैसाको रेञ्ज प्रदान गरिएको थियो । तर अधिकांश संस्थाहरुले न्युनतम मुल्यमै बोलकपत्र मार्फत प्रस्ताव गरेका छन् ।
सर्वोत्तमले जारी पुँजीको ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अथात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता शेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अथात् २४ लाख कित्ता शेयर पहिले योग्य संस्थागत लगानीकर्ताले पाउने छन् भने बाँकी ६० प्रतिशत अथात् ३६ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी हुनेछ ।



