काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा ८२ करोड ५० लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझसम्ममा ७ लाख ५१ हजार ८ सय २९ जनाले ८२ लाख ५० हजार ५ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा ७.१८ गुणा बढी हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपश्चात आजबाट दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
कम्पनीले पहिलो चरणको सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओका लागि मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।



