images
images

महसुल नतिर्ने धाराको लाइन काटियो, ग्राहकबाट १२ करोड २६ लाख बक्यौता उठाउन बाँकी


  • 402
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    महसुल नतिर्ने धाराको लाइन काटियो, ग्राहकबाट १२ करोड २६ लाख बक्यौता उठाउन बाँकी

    वीरगञ्ज । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा ५० हजार रुपैयाँभन्दा बढी बक्यौता राख्ने ५ सय ४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न सुरु गरेको हो ।

    महसुल बुझाउन पटक–पटक पत्राचार गरे पनि ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि धाराको लाइन काट्न सुरु गरिएको नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरण महर्जनले जानकारी दिए । पछिल्लो एक सातादेखि धाराको लाइन काट्न सुरु गरेयता ११ ग्राहकको धाराको लाइन काटिएको प्रमुख महर्जनले बताए । 

    संस्थानले ग्राहकबाट करिब १२ करोड २६ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । संस्थानले एउटै ग्राहकबाट २ लाख रुपैयाँभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको प्रमुख महर्जनले जानकारी दिए । 

    खानेपानी उपभोग गरेबापतको महसुल नबुझाउनेमा पूर्वमन्त्री, पूर्वन्यायाधीश, उद्योगी व्यवसायी, समाजसेवी, विभिन्न दलका नेता, कर्मचारीलगायत छन् । खानेपानीको महसुल नतिर्नेको सूचीमा रहेका व्यक्तिको नाम स्थानीय तहका वडा–वडामा टाँस गरिएको र पटक–पटक स्थानीय पत्रिकामा समेत सार्वजनिक गर्दा पनि अझै बक्यौता रकम उठाउन नसकिएको प्रमुख महर्जनको भनाइ छ ।
     
    वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानका आठ हजार ग्राहक रहेकामा सात हजारले महसुल तिरिरहेको तर पुरानो बक्यौताको रकम उठाउन नसकिएको महर्जनको भनाइ छ । उनले ताकेता गर्दासमेत रकम उठाउन नसक्ने भएपछि धारा काटेर रकम असुल गर्ने अवस्थामा संस्थान पुगेको बताए । 

    विद्यमान खानेपानी संस्थानको ऐन परिमार्जन गरेर पानी महसुलको रकम नतिर्ने व्यक्तिको नाम कर्जा सूचना केन्द्रमा कालोसूचीमा राखी बैंकिङ कारोबार रोक्ने गरी कानुन परिमार्जनको तयारीमा मन्त्रालय रहेको प्रमुख महर्जनले बताए । 

     


    images
    images

    Logo