काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) खुलाएको छ । प्राधिकरणले विगत ५ वर्षदेखि बन्द गरेको पीपीए आज सूचना जारी गर्दै पुनः खुलाएको हो ।
प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा क्रमशः ६ हजार ७५० मेगावाट र ४ हजार ५०० मेगावाट नपुगेसम्म पीपीए गर्ने निर्णयअनुसार जलविद्युत आयोजनाका प्रवर्द्धकहरुलाई आह्वान गरेको छ ।
प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोलक्रमअनुसार पीपीएको कारबाही प्रक्रिया बढाइने सूचनामा उल्लेख छ । पीपीए प्रक्रियामा रहेका प्रवर्द्धक कम्पनी र विद्युत नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, पफर्मेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन पत्राचार गरिएको प्रवर्द्धक कम्पनीलाई प्राधिकरणले पीपीए गर्न आउन भनेको छ ।
यसका लागि प्राधिकरणले ३५ दिनको समयसीमा दिएको छ । यो अवधिभित्र निवेदन प्राप्त नभए वा निवेदनमा चाहिने कागजात नपुगे त्यस्ता आयोजनालाई रोलक्रमबाट हटाई रोलक्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका त्यसपछिका आयोजनाको पीपीए प्रक्रिया अगाडि बढाइने सूचनामा स्पष्ट पारिएको छ ।



