काठमाडौँ । नमोवुद्ध नगरपालिकाले मोवाइल बैंकिङ मार्फत सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ । बैंकसम्म पुगेर गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बाँकी रहेकालाई नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारीसहित बैंकका कर्मचारीको टोलीले भत्ता वितरण गर्न शुरु गरेको हो ।
टोलीले घरघरमा नै पुगेर मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गर्न थालेको नगरपालिकाले जनाएको छ । सोही क्रममा आइतबार वडा नं २ का २० व्यक्तिलाई लुम्बिनी विकास बैंकका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको थियो ।
बैंकसम्म जान नसक्ने दीर्घरोगी तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गर्न थालिएको नगरपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले बताए । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा तीन हजार २९१ रहेका छन् । त्यसमध्ये मासिक तीन हजार रुपैयाँ भत्ता पाउने ७० वर्षमाथिका ज्येष्ठ नागरिक एक हजार ९ सय २ रहेका छन् भने दुई हजार रुपैयाँ मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० वर्षमाथिका दलित ज्येष्ठ नागरिकको सङ्ख्या १ सय २१ रहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै दुई हजार रुपैयाँ मासिक भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला ३ सय ९३ तथा दुई हजार रुपैयाँ नै भत्ता पाउने एकल महिला ५ सय २ रहेका छन् । त्यसैगरी मासिक तीन हजार रुपैयाँ भत्ता पाउने पूर्ण अपाङ्गता भएकाको सङ्ख्या ७१, मासिक एक हजार ६ सय रुपैयाँ पाउने आंशिक अपाङ्गता भएकाको सङ्ख्या ७५ तथा मासिक ४ सय भत्ता पाउने दलित बालबालिका (जन्मेदेखि पाँच वर्षसम्मका) को सङ्ख्या २ सय २७ रहेको नगरपालिकाको सामाजिक सुरक्षा शाखाले जनाएको छ ।
नगरपालिकाले २०७५ सालदेखि नै अशक्त र दीर्घरोगीलाई घरघरमा नै बैंकका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । यसपटक पनि आइतबारबाट शुरु भएको भत्ता वितरण कार्यक्रम ११ वटै वडामा क्रमशः सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले विगतदेखि नै मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ भने यस वर्षदेखि ज्येष्ठ नागरिकका लागि मुस्कानसहितको सेवाअन्तर्गत दाँत राख्ने, कान नसुन्नेका लागि सहयोगी उपकरण व्यवस्था गर्नेलगायत योजना अघि सारेको नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले बताए ।



