images
images

शुक्रबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा 


  • 847
    SHARES
  • २०८० भाद्र २० गते बुधबार

    शुक्रबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा 

    काठमाडौं । बागमती प्रदेश सरकारले तीनवटा जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले न्वागी (छोनाम) पर्वको उपलक्ष्यमा मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिएको हो । 

    चेपाङ समुदायले महान पर्वको रुपमा मनाउने न्वागी हरेक वर्ष भदौ २२ गते पर्दछ । त्यसैका लागि बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । 

    चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्ने पनि गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भासामा “छोनाम” भन्छन् भने खस नेपाली भासामा न्वागी भनिन्छ ।

    चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफुल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न तथा फलफुल भूमि र पितृलाई चढाउने गरिन्छ ।

    आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् ।

    गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरुले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरु भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरुले कुखुराका बली समेत दिने गर्छन् ।

    Chepang_Nwagi.jpg

    बागमती प्रदेशमा ६३ हजारको हाराहारीमा चेपाङको जनसंख्या रहेको छ । बागमती प्रदेश बाहेक गोरखालगायतको जिल्लाहरुमा पनि चेपाङको बसोबास रहेको छ । चेपाङ समुदायलाई संघीय सरकारले लोपोन्मुख प्रजातिको रुपमा सूचीकृत गरी सामाजिक सुरक्षाको व्यवस्था गर्दै आएको छ ।


    images
    images

    Logo