काठमाडौं । नेपालका अन्य चार जलविद्युत आयोजनाको विजुली किन्ने प्रस्ताव भारतले स्वीकृत गरेको छ । भारतले सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालंगाढ आयोजनाको १८० मेगावाट विद्युत् किन्नेगरी भारतले प्रस्ताव स्वीकृत गरेको हो ।
प्रकृया पुरा भए भोलि – बुधबार देखि नै बिजुली पठाइने प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक प्रवल अधिकारीले बताए । ‘हाम्रो तर्फबाट प्रक्रिया पूरा भएमा बुधबार राति १२ बजेदेखि नै यी आयोजनाको विद्युत् भारत निर्यात हुनेछ’ उनले भने ।
भारतले स्वीकृत गरेका आयोजनाहरुमध्ये सोलु दूधकोसीको क्षमता ८६ मेगावाट, दोर्दीखोलाको १२ मेगावाट, अपर चमेलियाको ४० मेगावाट र अपर कालंगाढको ३८.४ मेगावाट रहेको छ ।
नेपालले भारतीय बजारमा हाल ४५१.७ मेगावाट बिजुली बिक्री गरिरहेको छ । १८० मेगावाट थप भएसँगै अब ६३१.७ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । भारतको मन्त्रिपरिषद बैठकले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय पनि पारित गरेको छ ।



