काठमाडौं । बुक बिल्डिङ विधिबाट बढी मूल्यमा सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरीद गरी नियमविपरीत काम गरेको आरोप लागेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्रसिंह साउदमाथि अर्थ मन्त्रालयदेखि अख्तियारसम्मले अनुसन्धान तथा छानविन अघि बढाएका छन् ।
बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरेकाबारे अर्थ मन्त्रालयले दुवै निकायलाई स्पष्टीकरण सोधेर अनुसन्धान अघि बढाएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसबारे अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
गत साउन १३ गते अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र साउन १४ मा नेपाल स्टक एक्सचेन्जलाई यसबारे यथार्थ के हो, त्यसको स्पष्ट, तथ्यपरक जवाफ ३ दिनभित्र पेश गर्न पत्र काटेर भनेको थियो । अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष तथा नेप्सेका महाप्रबन्धकसँग स्पष्टीकरण नमागी बोर्ड र नेप्सेका नाममा पत्र पठाएको थियो ।
अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका अधिकारीहरूका अनुसार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले स्पष्टीकरण बुझाएका छन् । छोरी तथा श्रीमतीले शेयर खरीद गरेको तर भित्री कारोबार भने नगरेको व्यहोरासहितको दुवै निकायले स्पष्टीकरण बुझाएको अर्थ स्रोतको दाबी छ ।
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यका अनुसार अब पत्रहरूको आवश्यक अध्ययन गरेर मन्त्रालयले आफ्नो तयार गर्दै छ । ‘गलत भएको भए कारबाही हुन्छ, पत्रसँगै हामीले सूक्ष्म अध्ययन तथा छानविन थालिसकेका छौं,’ आचार्यले भने।
नियामक संस्थाका प्रमुख जस्तो व्यक्तिले व्यक्तिगत लाभका लागि कानूनविपरीत छोरी तथा श्रीमतीको नाममा शेयर खरीद गरेको बारे अख्तियारले समेत चासो देखाएको छ । यसका लागि अख्तियारले उजुरी एकिन गर्दै छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले उजुरीका आधारमा छानविन अघि बढाउने बताए । ‘केकति कस्तो प्रकृतिको उजुरी आएका छन् पहिला हामीले यकिन गरिरहेका छौं, त्यसपछि थप छानविन अघि बढाउँदै छौं ’ उनले बताए । त्यससम्बन्धी कागजातसहित आरोपितलाई बयानका लागि झिकाउने तयारी भइरहेको अख्तियारका अधिकारीहरूको भनाइ छ ।
सर्वोत्तम कम्पनीको ११ हजार ९१२ कित्ता शेयर धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुगांनाको छोरी रेविका ढुंगाना र सोही बरारको शेयर नै नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहोराको नाममा रहेको प्रमाणसहित समाचार प्रकाशित भएको थियो ।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरीका नाममा र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पत्नीका नाममा २५० रुपैयाँका दरले शेयर किनेपछि छानविनका लागि अर्थ मन्त्रालयसहित अख्तियारलाई समेत दबाब पर्दै आएको थियो । सर्वोत्तमले बुक बिल्डिङङमार्फत आईपीओ जारी गर्दा यसको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ हाराहारीमा आउने आकलन भइरहेको छ ।
(आर्थिक अभियान दैनिकबाट)



