काठमाडौं । देशकै प्रमुख औद्योगीक तथा व्यापारिक केन्द्रको रुपमा रहेको बुटवल क्षेत्रले फेरि अर्को फड्को मार्ने पुष्ठभूमी तयार भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले दावी गरेका छन् ।
उनका अनुसार देशकै ठूलो कृषि व्यवसायीक भवनदेखि औद्योगीक क्षेत्र, सडक, बजार, केबलकार लगायतका पुर्वाधारहरु धमाधम निर्माण भइरहेकाले बुटवलले फेरि अर्को फड्को मार्ने भएको हो ।
मेयर पाण्डेले आफू पनि क्षणिक र साना काममा भन्दापनि दीर्घकालीन र धेरै जनालाई फाईदा हुने काममा केन्द्रीत भएको जानकारी दिए। बुटवलदेखि मुक्तिनाथसम्मको बाटो चाँडो सम्पन्न गर्न संघीय सरकारलाई अनुरोध गर्दै उनले त्यस मार्गबाट भारतका भक्तजन मुक्तिनाथ र तिब्बतका तिर्थयात्री लुम्बिनी आउने क्रम अत्यधिक बढ्ने दावी पनि गरे ।
दुई ओटा नयाँ नगर अस्पताल दशैपछि सञ्चालनमा आउने र आम्दा अस्पताललाई ३०० बेटमा विस्तार गर्न जापानसँग सम्झौता भइसकेकाले स्वास्थ्य सेवामा पनि बुटवल अब्बल बन्न लागेको उनको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको पालिका वहसमा मेयर पाण्डेले दैनिक ३०० टोल समिति मार्फत सरसफाईको काम भइरहेको र हरेक शनिबार टोलवासी नै सरसफाईमा उत्रिने भएकाले बुटवल सफा, सुग्घर र सुन्दर बन्दै गइरहेको बताए ।
उनले ५०० छाडा चौपाया व्यवस्थापन गर्नेगरी गौशाला निर्माण भइसकेको र आफ्नो कार्यकाल भरीमा १० हजार परिवारलाई लालपुर्जा दिलाएर सुकुम्बासी समस्या समाधान हुने दावी गरे । नगरको नौलो कार्यक्रमका रुपमा गृहीणी महिलाहरुलाई सिप सिकाउने र कोशेली घर स्थापना गरी उनीहरुका उत्पादन विक्रि गर्नेगरी “गृहीणी महिला स्वरोजगार” कार्यक्रम सञ्चालन गर्न लागिएको पनि मेयर पाण्डेले जानकारी दिए ।
उपमहानगरपालिका संघका संस्थापक संयोजक समेत रहेका पाण्डेले स्थानीय सरकारका लागि संघीय सरकार नै बाधक भएको आरोप लगाए । उनले भने, “स्थानीय तहमा गर्नुपर्ने कामका लागि संघीय सरकारमा डेलिगेसन जादाँ जादै हाम्रो धेरै समय वितेको छ, संघीय सरकारले काम नगरिदिँदा हामीले गाली खानु परेको छ ।’ मेयर पाण्डेले स्थानीय सरकारलाई दिनु पर्ने काम पनि संघीय सरकारले नै गर्न खोज्दा समस्या भइरहेको अनुभव सुनाए ।



