काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले मेयर बालेन शाह पत्नीलाई ट्राफिक प्रहरीले असभ्य व्यवहार गरेको बताएको छ । आइतबार सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै मेयर पत्नीलाई प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको बताएको हो ।
शनिबार सरकारी गाडी प्रयोग भएको र मेयर शाहाले फेसबुकमार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । सोही विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको बलेन सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार शनिबार बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी बालेन पत्नी सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएको र स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा महानगरको गाडी प्रयोग गरेको हो ।
‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे ।सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ ।’
मेयर पत्नी आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किरहेकी थिइन् । कोटेश्वरमा ट्राफिक प्रहरीहरूले रातको करिब ९ बजे सवारी चेकजाँचका क्रममा असभ्य व्यवहार गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




