काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । भवन निर्माणको लागि निःशुल्क प्राप्त भएको जग्गा खरिद गरिएको भनी कागजात बनाइ भुक्तानीका लागि पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
मुद्दा लाग्नेमा तात्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, तात्कालीन लेखापाल जिवन सुवेदी र वडा नं २ का तात्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेत रहेका छन् ।
वडा नं २ को भवन निर्माणका लागि निःशुल्क पाएको जग्गा बस्नेतले खरिद गरेको भन्दै ६ लाख रुपैयाँ भुक्तानी लिएका थिए । दानपत्रबाट जग्गा पास भएको देखिँदासमेत दिन नमिल्ने रकम भुक्तानी गरेको भन्दै आयोगले अधिकृत भण्डारी र लेखापाल सुवेदीलाई समेत प्रतिवादी बनाइ मुद्दा दायर गरेको हो ।
उनीहरुलाई ६ लाख रुपैयाँ बिगो कायम गरि आइतबार विशेष अदालत काठमाडौंमा मुदा दायर गरिएको छ ।



