काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मा उपर उजुरी दिन आह्वान गरेको छ । आज बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा रहेका थिए ।
ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर यही भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको थियो ।
१० दिन भित्र दिएको उजुरीमाथि छानबिन गरेपछि प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।



