images
images

चितवनमा बढे महिला उद्यमी


  • 225
    SHARES
  • २०७८ श्रावण १७ गते आइतबार

    चितवनमा बढे महिला उद्यमी

    चितवन । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९ छ । पुरुषको सङ्ख्या एक हजार १५२ छ ।

    गत आर्थिक वर्षमा दुई हजार ३९२ नयाँ उद्योग दर्ता भएका छन् । साझेदारीसमेत हुने भएकाले उद्योगको तुलनामा उद्यमीको सङ्ख्या धेरै हुने गर्दछ । कार्यालयका लेखा अधिकृत नारायण लम्सालका अनुसार थपिएका उद्योगमा महिला र पुरुष गरी सात हजार ६५७ जनाले रोजगारी पाएका छन् । पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट थप सहुलियत उपलब्ध हुने भएकाले महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढी भएको उनको भनाइ छ ।

    कार्यालयका प्रमुख यादवनाथ आचार्यले पहिले उद्योग दर्तामा महिलालाई ५० प्रतिशत छुट हुने भए पनि हाल यो नरहेको बताए । उनले भने, “सङ्घीय सरकार र पालिकाले महिलाका उद्योगलाई प्राथमिकता दिने भएसँगै उद्यमी बढेका हुन् ।”  

    उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पोडेलले उद्योग दर्ता सहुलियत ऋण र अनुदानका लागि धेरै दर्ता भएको बताए । महिलाका नाममा दर्ता गरिएका २० प्रतिशत उद्योग पनि सञ्चालन नभएको जनाउँदै उनले अनुदानका लागि धेरै उद्योग दर्ता भएको बताए। उनले थप्दै भने, “राष्ट्र बैंकको कडाइपछि बैंकलाई लक्ष्य हाँसिल गर्नु छ, व्यक्तिलाई सस्तो ब्याजमा पैसा चाहिएको छ ।” उद्योग दर्ता गरेर लिइएको अनुदान सम्बन्धित क्षेत्रमा लगानी गर्न उनले सुझाव दिए ।   

    कार्यालयमा हाल रु पाँच लाखदेखि रु पाँच करोड पूँजी भएका उद्योग दर्ता हुँदै आएका छन् । रु पाँच लाखभन्दा तल पूँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछन् । जिल्लामा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । कालिका नगरपालिकामा औद्योगिक क्षेत्रसमेत बनाइँदै छ ।


    images
    images

    Logo